पर्यटन मन्त्री पाण्डे : “निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार”
काठमाडौं-पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा निजी लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाइरहेको बताएका छन्।
कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री पाण्डेले होटल सञ्चालन मात्रले पर्यटन क्षेत्रलाई टिकाउ बनाउन नसकिने भन्दै निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।
“हामी निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार छौं। तर, व्यवसायीहरूले पनि श्रमिकको शोषण नगरी, उपभोक्ताबाट अत्यधिक नाफा नअसुली, नियमनमा सरकारलाई सहयोग गर्नुपर्छ,” मन्त्री पाण्डेको भनाइ थियो।
उनी अनुसार पर्यटकलाई एक पटक मात्रै होइन, पटक–पटक आउन मन लाग्ने गरी सेवा, व्यवहार र भौतिक संरचना सुधार गर्नुपर्ने आवश्यकता छ। “थकाली खानाको लोकप्रियताको मूल कारण त्यहाँ गरिने राम्रो व्यवहार हो। त्यसरी नै सबै व्यवसायीहरूले सेवा–सुविधा सुधार गर्नुपर्छ,” उनले जोड दिए।
सन् २०६६ मा स्थापित उक्त एशोसिएशनमा हाल १०५ होटल तथा गेष्ट हाउस सदस्य रहेका छन्। संस्थाले आगामी दिनमा आचारसंहिता जारी गर्ने, कलंकी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्ने र विभिन्न सामाजिक गतिविधि अघि बढाउने योजनासमेत सार्वजनिक गरेको छ।












