भरतपुर महानगरका दुई ठाउँबाट दमकल सेवा, चितवन–नवलपुरमा १३३ आगलागी नियन्त्रण
चितवन — भरतपुर महानगरपालिकाले आगलागी नियन्त्रण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दुई स्थानबाट दमकल सेवा सञ्चालन गरिरहेको छ। महानगरको कार्यालय (भरतपुर) र गुञ्जनगरबाट सेवा प्रदान हुँदै आएको छ।
महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई स्थानबाट चितवन जिल्लाभरि र छिमेकी जिल्ला नवलपुरमा समेत सेवा दिइएको छ। आर्थिक वर्ष २०८१/८२ मा चितवन र नवलपुरमा गरी १३३ स्थानमा आगलागीका घटना भएका थिए। तीमध्ये महानगर कार्यालयमा रहेको दमकलले ९७ स्थानमा र गुञ्जनगरस्थित दमकलले ३६ स्थानमा आगो निभाएको रेग्मीले जानकारी दिए। केही स्थानमा भने दुवै दमकलको सहकार्यमा आगो नियन्त्रण गरिएको थियो।
हाल भरतपुर महानगरको कार्यालयमा दुईवटा र गुञ्जनगरमा एकवटा गरी तीनवटा दमकल रहेका छन्।
महानगरपालिकाको विपद् व्यवस्थापन शाखाप्रमुख बालकृष्ण थपलियाका अनुसार विशेषगरी गर्मीयाममा बढ्ने आगलागीका घटनालाई मध्यनजर गर्दै नागरिकमा सचेतना बढाउने उद्देश्यले कृत्रिम घटनाको अभ्यास (मोक ड्रिल) गरिँदै आएको छ। उद्धार, राहत र व्यवस्थापनको सन्देश दिन यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेलेको थपलियाले बताए।












