नेपाल एयरलाइन्सको हङकङ उडान सेवा ४३ औं वर्षमा प्रवेश:हर्षोल्लासपूर्वक बार्षिकोत्सव सम्पन्न
काठमाडौं-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स कर्पोरेसन)को हङकङ शाखाले उडान सेवा प्रारम्भ गरेको ४३ औं वार्षिकोत्सव एक भव्य समारोहबीच हङकङको जोर्डनस्थित याक एण्ड यति रेस्टुरेन्टमा सम्पन्न गरिएको छ।
नेपाल एयरलाइन्सको गौरवपूर्ण इतिहासलाई सम्झनास्वरूप आयोजित कार्यक्रममा हङकङ नेपाली महासंघ तथा नेपाल क्लब हङकङले निगमलाई हार्दिक बधाई एवं आगामी दिनमा थप व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेको छ।


समारोहमा नेपालबाट आएका एयरलाइन्सका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी, वरिष्ठ क्याप्टेन तथा कलाकार श्री विजय लामा र मार्केटिङ डाइरेक्टर श्री टंकनिधि दहालको उपस्थिति रहनु विशेष आकर्षणको विषय बन्यो।
कार्यक्रममा हङकङ-मकाउ क्षेत्रका लागि नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखक, पर्यटन व्यवसायी, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।


समारोहमा हङकङ नेपाली महासंघले निगमको हङकङ शाखा र सम्पूर्ण टिमको योगदानको उच्च कदर गर्दै महासंघ अध्यक्ष श्रीमती रिता गुरुङलाई खदा ओडाएर तथा सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो।
महासंघको तर्फबाट अध्यक्ष गुरुङले निगमका विशिष्ट प्रतिनिधिहरुको हङकङ आगमनले नेपाली समुदायमा उत्साह थपेको बताउँदै, भविष्यमा अन्तरक्रिया कार्यक्रमको आवश्यकता औंल्याइन्। उनले भनिन्, “यस्ता अन्तरक्रियाले एयरलाइन्ससँग जोडिएका भ्रमहरू चिर्न, सेवा सुधार र ग्राहकविश्वास बढाउन सहयोग पुर्याउनेछ।”
अन्त्यमा, उनले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवा विस्तार, परिस्करण र ग्राहकमैत्रीकरणको काममा निरन्तर प्रगति होस् भन्ने कामना गर्दै सम्पूर्ण टिमलाई हर्षोल्लासपूर्ण ४३ औं वार्षिकोत्सवको बधाई व्यक्त गरिन्।
(तस्बिर:रिता गुरुङ फेसबुकबाट)














