सत्याग्रहमा बसेका मेयरलाई भेट्न माइतीघर पुगिन् सांसद तोशिमा कार्की – Sagarmathapana:: Online News Portal

सत्याग्रहमा बसेका मेयरलाई भेट्न माइतीघर पुगिन् सांसद तोशिमा कार्की

   २०८२ श्रावण १७ गते  

काठमाडौं।दिक्तेललाई बाँसको राजधानी घोषणाको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रहमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले भेटेकी छन्।

सत्याग्रह स्थलमै पुगेर सांसद कार्कीले मेयर भट्टराईको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बाँसको महत्त्व र सम्भावनाबारे गम्भीर छलफल गरिन्। भेटका क्रममा कार्कीले स्थानीय उत्पादनलाई राष्ट्रिय पहिचान र नीति निर्माणमा प्राथमिकताका साथ जोडिनुपर्ने बताइन्।


“बाँस केवल कच्चा पदार्थ होइन, जीवनशैली, संस्कृति र आत्मनिर्भरताको प्रतीक हो,” सांसद कार्कीले भनिन्, “दिक्तेल बाँस उत्पादनमा अग्रणी क्षेत्र हो, त्यसैले त्यसलाई ‘बाँसको राजधानी’ घोषणा गर्नु युक्तिसंगत माग हो।”

मेयर भट्टराईले सरकारले बाँसको प्रवर्द्धनमा चासो नदिएको, दिक्तेलको पहिचान र सम्भावनालाई बेवास्ता गरेको गुनासो गरे। उनले सत्याग्रहको मुख्य उद्देश्य बाँसलाई राष्ट्रिय योजनामा समावेश गराउनु रहेको बताए।

सत्याग्रह स्थलमा स्थानीय, युवा, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति समेत देखिएको छ। सामाजिक सञ्जालमार्फत समेत अभियानले चासो बटुल्दै गएको छ।

यसअघि दिक्तेल नगरपालिका र आसपासका क्षेत्रमा बाँसजन्य उत्पादन र उद्यमहरू तीव्र गतिमा बढिरहेका छन्। त्यहाँ उत्पादन हुने बाँसले घरेलु तथा औद्योगिक उपयोगका लागि ठूलो सम्भावना बोकेको बताइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै