विदेशमा नेपाली सिनेमाको सम्भावना विषयक छलफल कार्यक्रम बेलायतमा सम्पन्न – Sagarmathapana:: Online News Portal

विदेशमा नेपाली सिनेमाको सम्भावना विषयक छलफल कार्यक्रम बेलायतमा सम्पन्न

   २०८२ श्रावण १४ गते  

लन्डन–नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र भविष्यका सम्भावनाहरूबारे गहन छलफल हुने उद्देश्यले बेलायतमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा “विदेशमा नेपाली चलचित्रको विकास र विस्तार” शीर्षकमा आयोजित यस कार्यक्रमले नेपाल र बेलायतमा नेपाली चलचित्रको वर्तमान अवस्थादेखि सम्भावित सम्भावनासम्मका पक्षहरू समेट्दै विविध दृष्टिकोण प्रस्तुत गर्‍यो।

कार्यक्रमका प्रमुख वक्ता निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्र उद्योगसम्बन्धी ताजा तथ्याङ्क प्रस्तुत गर्दै यस क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए। उनले बेलायतमा रहेका नेपाली सिनेप्रेमी र लगानीकर्ताहरूप्रति आशा व्यक्त गर्दै भावी योजनाहरूको संकेत पनि दिए।

निर्देशक दिपेन्द्र लामाले आफ्नो धारणा राख्दै भने, “विदेशी लगानी र विदेशबाट हुने रिकभरी (रिटर्न) नेपाली चलचित्रका लागि अमृत समान हो।” उनले सशक्त कथावस्तु र प्रविधिमैत्री निर्माण प्रक्रियाले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमा प्रतिस्पर्धी बन्न सक्ने बताए।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष आकाश अधिकारीले नेपाली सिनेमाको समसामयिक अवस्थाको समिक्षा गर्दै देशभित्र र बाहिर बसेर पनि चलचित्रलाई माया गर्न आह्वान गरे।

त्यस्तै, निर्देशक समाजका महासचिव अरुण कुमार प्रधानले विदेशमा आयोजना हुने फिल्म फेस्टिभलहरूको औचित्यबारे प्रस्ट पारे। उनले स्कटल्याण्डमा हालै सम्पन्न “निफ २०२५” को समीक्षा गर्दै यस्ता अन्तर्राष्ट्रिय जमघटले नेपाली सिनेमा र संस्कृतिको प्रचारमा सहयोग पुग्ने बताए।

बेलायतका चलचित्रकर्मी शशी थापा सुब्बाले नेपाली सिनेमाले यहाँका नयाँ प्रतिभाहरूप्रति पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “यहाँ रहेका कलाकार र इच्छुक युवालाई तालिम र अवसर दिन सकियो भने आत्मविश्वास बढ्नेछ र लगानीको वातावरणसमेत तयार हुनेछ।”

कार्यक्रममा इनास बेलायतका अध्यक्ष सन्जय कडेल, अन्तर्राष्ट्रिय लाखे नाचका प्रवर्द्धक बिनोद चिपालु, चलचित्र ‘लाखे आजु’ का निर्माता लगायत अन्य सिनेप्रेमीको उल्लेख्य उपस्थिति थियो।

फ्लोर ओपन सेसनमा सहभागी चलचित्रकर्मीहरूले नेपाली सिनेमाको समस्या र समाधानबारे जिज्ञासा राखेका थिए, जसमा नेपालबाट आएका प्रतिनिधिहरूले प्रत्यक्ष उत्तर दिए। सहभागीहरूले बेलायतमा यति गम्भीर र सिर्जनात्मक सिने छलफल भएकोमा सन्तोष व्यक्त गर्दै यसले नेपाली भाषा, संस्कृति र सिनेमाको अन्तर्राष्ट्रिय छवि बढाउन मद्दत गर्ने धारणा राखे।

कार्यक्रमको समापनमा निर्देशक समाजका अध्यक्ष पराजुलीले बेलायतस्थित नेपाली चलचित्रकर्मीहरूका लागि चाँडै क्षमता अभिवृद्धि कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। साथै, निफ २०२५ मा सहभागी हुन नसकेका चलचित्रकर्मीहरूलाई विशेष सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै