अजय स्मृति कप’ दोस्रो संस्करणमा प्रवेश,युवा फुटबल प्रतिभा देखाउने तयारी
काठमाडौं-नागर्जुन स्युचाटरस्थित TYC मैदान फेरि एकपटक युवा जोश र खेलकुदको रंगले रङ्गिन हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका–१३ वडा कमिटीको आयोजनामा दोस्रो अजय स्मृति फुटबल कप यही साउन १५, १६ र १७ गते आयोजना हुने निश्चित भएको छ।
साउन १३ गते आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरियो। पत्रकार सम्मेलनमा युवा संघ बागमती प्रदेश कमिटीका इन्चार्ज अमित पौडेल, बागमती सचिवालय सदस्य सन्जय नापित, तथा नेकपा (एमाले) काठमाडौं महानगर कमिटी अध्यक्ष पुस्प नारायण मानन्धरको उपस्थिति रहेको थियो।


कार्यक्रमको उद्देश्य खेलकुदलाई माध्यम बनाई युवाहरूबीच एकता, स्वास्थ्य र सहिष्णुताको सन्देश फैलाउने रहेको बताइएको छ। साथै, दिवंगत अजयको स्मृतिमा प्रतियोगिता आयोजना गर्दै युवा प्रतिभालाई सम्मान र प्रोत्साहन दिने लक्ष्य राखिएको छ।
साउन १५ गतेको उद्घाटन समारोहमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बश्नेत प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। प्रतियोगिताको समापन समारोह साउन १७ गते सम्पन्न हुनेछ, जसमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई रु. ४०,००० नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले रु. २०,००० नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ। आयोजकहरूका अनुसार, प्रतियोगिताले युवा खेलाडीहरूमा खेलप्रतिको रुचि र प्रतिस्पर्धाको भावना अझ बलियो बनाउने विश्वास लिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश कमिटी इन्चार्ज अमित पौडेलले भने,
“अजयको सम्झनामा सुरु गरिएको यो प्रतियोगिता केवल फुटबल मात्र होइन, स्मृतिको सम्मान र भविष्य निर्माणको अभियान हो। हामी आगामी वर्षहरूमा यसलाई अझ भव्य रूपमा निरन्तरता दिनेछौं
अजय स्मृति कप अब केवल एउटा फुटबल प्रतियोगिता नभएर युवा जोश, स्मृति सम्मान, र समाज निर्माणको साझा अभियान बन्दै गएको छ। बल र बुद्धिको संगम मैदानमा देखिन थालेको छ — जुन युवालाई प्रेरित गर्ने एउटा उदाहरण बन्न सक्छ।













