पोखरामा अवैध विदेशी मुद्रा सटहीमा संलग्न तीन जना पक्राउ,करोडौं बराबरको रकम बरामद
पोखरा–कास्की प्रहरीले शनिबार साँझ पोखरामा स्रोत नखुलेको ठूलो परिमाणको नेपाली र विदेशी मुद्रा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–१० बिरौटाबाट पक्राउ परेका व्यक्तिहरूमा रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन्

विदेशी मुद्रा अवैध सटहीको सूचनाका आधारमा पक्राउ
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार शंकास्पद रूपमा विदेशी मुद्रा सटही भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बरामद रकम र विवरण
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ ४३ लाख ७३ हजार ७००, अमेरिकी डलर १९,६०० र युरो ३,२०० बरामद गरेको जनाएको छ। हालको विनिमय दर अनुसार बरामद रकम करिब ७५ लाख ९६ हजार ९०० रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ।
पक्राउ परेकाको पृष्ठभूमि
महुमुद्दिन एम अहमद रुपन्देही र पोखरामा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए। उनी विदेशी मुद्राको अवैध सटहीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
राजकुमार बुढाथोकी पोखरा लेकसाइडमा विगत २० वर्षदेखि हिलारी मनी चेन्जर सञ्चालन गर्दै आएका थिए।खेमराज पौडेल पनि लेकसाइडमा सगरमाथा मनी चेन्जरका सञ्चालक रहेर १४ वर्षदेखि कारोबार गर्दै आएका थिए।
प्रहरीका अनुसार उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा अवैध विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ।












