“प्रकृति र संस्कृति सँगसँगै लैजाँदा मात्रै सम्भव छ दिगो पर्यटन : मन्त्री पाण्डे”
काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको सक्रिय सहभागीता आवश्यक रहेको बताएका छन्।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ शीर्षकको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, “पर्यटन पूर्वाधारको विकासका लागि अब निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ। सरकारले एक्लै सबै गर्न सक्दैन, साझेदारी आवश्यक छ।”
उनले दृश्य माध्यमबाट नेपालको सौन्दर्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी ढंगले प्रस्तुत गर्नु पर्ने आवश्यकता औंल्याउँदै भने, “देशबाहिरबाट एक पटक आउने पर्यटकलाई दोहोर्याएर ल्याउने वातावरण बनाउन हामी लागिरहेका छौं। विविधतापूर्ण संस्कृति र अनुपम प्रकृतिलाई दृश्यमा उतार्न सके पर्यटन आर्थिक समृद्धिको मार्ग बन्नेछ।”
मन्त्री पाण्डेले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। किरात सर्किटलाई प्राथमिकतामा राखेर अगाडि बढाइने पनि उनले स्पष्ट पारे।
“सगरमाथा जसरी गौरवका साथ उभिएको छ, त्यससँग जोडिएको हाम्रो दर्शन, विचार र सांस्कृतिक सम्पदा हामीले संसारलाई देखाउन सक्नुपर्छ,” मन्त्री पाण्डेले भने, “प्रकृति र संस्कृति सँगसँगै अघि बढ्दा मात्र दिगो पर्यटन सम्भव हुन्छ।”
उक्त कार्यक्रममा कोशी प्रदेशका पर्यटनस्थलहरू दृश्य माध्यममार्फत प्रस्तुत गरिएका थिए भने पर्यटन व्यवसायी, स्थानीय प्रतिनिधि र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।












