बाढीबाट पुगेको क्षतिको विवरण संकलन गर्न समिति गठन
रसुवामा बाढीले पुर्याएको क्षति विवरण संकलन गर्न समिति गठन भएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त बैठकले समिति गठन गरेको हो।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको हो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालयका प्रमुख ई.विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड-२ का वडाध्यक्ष कामी छिरिङ तामाङ सदस्य छ । नेपाल विद्युत प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङ, नेपाल टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत कम्पनी प्रमुख मनिष विष्ट, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे सदस्य छन् । सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी समितिका सदस्य सचिव छन्।
यस समितिलाई जिल्ला सुरक्षा समितिले आवश्यक सहयोग, निर्देशन, समन्वय र सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ ।












