काठमाडौं महानगरभित्र मंसिर २७ देखि सूर्तीजन्य पदार्थ बेच्न प्रतिबन्ध
काठमाडौँ। मंसिर २७ गतेदेखि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ। मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै उक्त कुरा बताएको हो।
सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सूचना मार्फत जानकारी दिएका छन्। यस्तै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने समेत सूचनामा उल्लेख छ।
सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ। २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धुम्रपान, चुरोट, बिँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ।












