प्रधानमन्त्री ओलीले माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरे – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीले माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरे

   २०८१ माघ २ गते  

काठमाडौँ : चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरी उनले संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन्।

संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए।

उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए। उनले सो संस्थाको प्रशंसा गरे।

नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे।

प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै