नेकपा (एकीकृत समाजवादी) का ९० प्रतिशत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी
काठमाडौं । आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का ९० प्रतिशत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गरेका छन् ।
उनले कम्युनिष्ट पार्टीहरु अब धमाधम एमालेमा समाहित हुने बताएका हुन् । त्यसमध्ये पनि माधव नेपाल नेतृत्वको ९० प्रतिशत नेता तथा कार्यकर्ता र माओवादीका धेरै नेताहरु एमालेमा आउने उनको दाबी छ ।
‘अब सबै कम्युनिष्टहरु एमालेमा समाहित हुँदै जान्छन् । खास गरेर कार्यकर्ताहरु । हिजोको जस्तो टाउको मिलाउने होईन । टाउको मिलाउने अभ्यास असफल भइसक्यो । माओवादीका धेरै साथीहरु एमालेमा आउँछन् । हामी लिन्छौं । समाजवादीका ९० प्रतिशतभन्दा बढी साथीहरु एमालेमा आउँछन्, हामी लिन्छौं । एमाले उहाँहरुकै पार्टी हो,’– उनले भने ।
सत्ता समीकरणमा कुनै समस्या नरहेको र माओवादीको कारणले सरकार नढल्ने बताए । नेता भट्टराईले माओवादीको ३२ सिट खिया लागिसकेको उनको टिप्पणी छ ।
‘त्यो ३२ सिटको अब के काम छ र ? खिया लागिसक्यो । हिजो हामीले दर्शक दीर्घमा बसेर जादु मान्दियौं । जब मञ्चमा उनको जादु कस्तो रहेछ भनेर हेर्न जाँदा छलकपट भन्दा बाहेक केही पनि थिएन । त्यो अंकको अब केही काम छैन,’– उनले भने ।












