आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको मिति तय
काठमाडौं ।सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको मिति तय भएको छ ।
आहा गोल्डकप यो २४ औं संस्करण माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सिफारिस गरेकोमा माघ २२ को मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु छन्

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
राष्ट्रिय खेलकुद परिषद् नेपाल, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघसमेतको विशेष सहयोग रहने गरेको सहाराले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । यस्तै, पोखरा महानगरपालिका संरक्षक छ भने अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलायन्स बुद्ध एयर रहेका छन् ।
गत वर्ष थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब उपाधि जितेको थियो ।












