चलचित्र पुर्ण बहादुरको सारंगी युनिट प्रचारप्रसार अभियान
काठमाडौं, चलचित्र पुर्ण बहादुरको सारंगी युनिट प्रचारप्रसार अभियान यतिबेला सुनसरीको इटहरीमा पुगेको छ । त्यसपछि धरान र दमकमा प्रचार प्रसारको कार्यक्रम गरेको यो युनिटले विराटनगरमा हिजो आफ्नो प्रचार प्रसारको अभियान सम्पन्न गरेको छ ।
कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको प्रचार प्रसार अभियानमा कलाकारहरुले साँगीतिक प्रस्तुत पनि दिईरहेका छन् । यो साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा पनि आयोजना गरिएको छ ।
विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, सिनेमा टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाज मा प्रमोशनल भिजिटका लागि गएको थियो ।

यस प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो। गायक प्रशान्तले सिनेमाका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए। कार्यक्रमको अन्त्यमा कलाकारहरू विजय, मुकुन, र अन्जनाले ’पुर्ण बहादुरको सारंगी’ हेर्न विराटनगरका दर्शकलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।
’पुर्ण बहादुरको सारंगी’ सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। सिनेमा गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ ।
मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको छ। कार्यक्रम व्यवस्थापनमा आकाश रावलको ’हुस क्रीयशन’ टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए । अहिले टिमले चितवनतर्फ यात्रा थालेको छ ।












