प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सर्यो
काठमाडौं- आसन्न राष्ट्रपति निर्वाचनलाई ध्यानमा राख्दै सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ छ ।
फिल्म अवार्ड–२०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । यसअघि नोभेम्बर १६ मा आयोजना गर्ने अवार्ड एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा शनिबार जारी विज्ञप्तीमा उल्लेख छ ।
अवार्डको जुरीमा नेपालबाट अभिनेता शिब श्रेष्ठ, अभिनेता सुनील थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । अवार्ड समारोहलाई होस्ट नरेश भट्टराईले संचालन गर्ने छन् ।
अवार्ड निकै भब्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मुल आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् । नेपाली कलाकार,चलचित्र तथा नेपाली कलासंस्कृतिको प्रवद्र्धनमा यो अवार्डले अमूल्य टेवा पुर्याउने बिश्वास लिइएको बिज्ञप्तीमा उल्लेख छ ।
अवार्ड मुल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कला-संस्कृति,भेषभेषा झल्कने झाँकीसहित प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ ।
२०८० साउनदेखि २०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।












