काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षण गर्ने – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षण गर्ने

   २०८१ आश्विन २८ गते  

काठमाडौं : काठमाडौं महानगरपालिकाले  स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ।

प्रशिक्षणमा क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु लगायतका विधा रहने सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार प्रशिक्षणका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदन दिन सक्नेछन्। कार्तिक मसान्तभित्र छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइने उनको भनाई छ।

मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने महानगरको तयारी छ।छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबीच हुने तर प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइने पोखरेलले बताए।

यसैगरी जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ। जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ। कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसईईको तयारीमा प्रोत्साहन गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै