पूर्वराजा शाहले आज विजयदशमीका दिन ४ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाण्डौ पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन् ।
संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन् । यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले भने टीका नलगाउने भएका छन् ।
यस्तै उनले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध पनि गरेका छन् । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे।
दुर्गापक्षको मुख्य दिन बडा दसैँमा आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्म नै मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले आज दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आज दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसअघि भने ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् ।
साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिए कार्यक्रम छ । राष्ट्रपति स्वयंमले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीका ग्रहण गर्ने छन् ।
यस्तै उनले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्ने छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको छ । उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपराह्न २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो ।
’












