EN
मेनु
Flash News

नेपाल र भानुआटुबीच जलवायु सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं।नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण र जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री चौधरीले नेपाल र भानुआटु जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुक भएकाले हिमाल र महासागरको संरक्षणका लागि साझा आवाज तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणामार्फत हिमाली मुलुक र टापु राष्ट्रले सामना गरिरहेका जलवायु सङ्कटका विषयलाई साझा एजेन्डाका रूपमा अघि बढाउन प्रस्ताव गर्नुभयो। हिमालमा हिउँ तथा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले यी विषयलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा मन्त्री चौधरीले हालै नेपालमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिबारे जानकारी गराउनुभयो। विपद्पछि भानुआटुले व्यक्त गरेको ऐक्यबद्धताका लागि उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो।

नेपालले कोप–३१ का मुख्य निर्णयमा हिमालसम्बन्धी मुद्दा समावेश गर्न भानुआटुको समर्थनका लागि आग्रह गरेको थियो। साथै, जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीको सम्बोधनका लागि दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त आवाज उठाउनुपर्नेमा जोड दिइएको थियो।

भेटवार्तामा जलवायु न्याय, अनुकूलन, हिमाल तथा महासागर संरक्षण र जलवायुजन्य क्षति तथा नोक्सानीका विषयमा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।