काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग थप प्रत्यक्ष रूपमा जोड्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।
उनले कांग्रेसको राजनीतिक गतिविधिलाई दूरदराजका नागरिकसम्म पुर्याउँदै सामान्य नागरिकका समस्या र आवश्यकतालाई पार्टीको राजनीतिको केन्द्रमा राख्ने आफ्नो अभियान रहेको स्पष्ट पारे।
शर्माले लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म पुगेर विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लबिङ’ गरेको दाबी गरे। १२ बुँदे समझदारीदेखि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नजरबन्दमा रहेका समयसम्म आफू लोकतन्त्र पुनःस्थापनाको अभियानमा सक्रिय रहेको उनको भनाइ थियो।
‘हामी बीपी कोइराला र गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ । मोरङ तथा विराटनगरवासीका रूपमा यसमा हामीलाई गर्व छ,’ शर्माले भने, ‘अहिलेको बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजका नागरिकका पक्षमा काम गर्ने तथा दुई छाक खानका लागि संघर्ष गरिरहेका र सामान्य रोगको उपचारबाट समेत वञ्चित नागरिकका पक्षमा निरन्तर काम गर्ने हाम्रो अभियान हो।’
उनले कांग्रेसलाई जनतासँग जोड्ने, पार्टीलाई थप सुदृढ बनाउने र त्यसपछि देश निर्माणको अभियान अघि बढाउने उद्देश्यसहित आफू महामन्त्रीको प्रतिस्पर्धामा आएको बताए।
‘१२ बुँदे सम्झौतादेखि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला नजरबन्दमा रहँदा नेपाल, भारत र अमेरिकासम्म पुगेर लोकतन्त्र पुनःस्थापनाका लागि लबिङ गरेको इतिहास बोकेर आएको छु,’ शर्माले भने, ‘यसपालि नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छु।’
उनले पार्टीका अग्रज नेता, सहकर्मी तथा देशभरका महाधिवेशन प्रतिनिधिहरूबाट आफ्नो अभियानमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
डा. शर्मा मोरङ–३ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। त्यसअघि उनी बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए।
शर्मा २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।



