कांग्रेस सभापति थापाद्वारा देउवासँग सम्बन्ध सुधारको पहल
काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग सम्बन्ध सुधारको पहल सुरु गरेका छन्।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासहित शनिबार देउवालाई उनको निजी निवास महाराजगञ्ज पुगेर भेटेका हुन्। थापा र शर्माले देउवासँग भेट गरेको पुष्टि कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गरेका छन्।

![]()
शुक्रबार निर्वाचन आयोगले पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनमार्फत निर्वाचित थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिएको थियो। त्यससँगै आयोगले यसअघि देउवाको हस्ताक्षरबाट सञ्चालन हुँदै आएको कांग्रेसको अभिलेख अद्यावधिक गरी सभापति थापाको कायम गरेको छ।
![]()
![]()

कांग्रेस विभाजनको अवस्थामा पुगेपछि शीर्ष नेताहरूबीच संवादमार्फत सम्बन्ध सुधारको प्रयास सुरु भएको बताइएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापा र शर्माले देउवासँग भेट गरेको पुष्टि गर्दै यसलाई नियमित शिष्टाचार भेट भएको बताएका छन्। यद्यपि, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे उनले खुलाएनन्।
यसअघि विशेष महाधिवेशनको तयारीका क्रममा थापा र शर्माले गत बुधबार पनि देउवालाई महाराजगञ्जमै भेटेका थिए। तर आपसी सहमति नजुट्दा पार्टी विभाजनको अवस्थासम्म पुगेको थियो।
सहमति नहुँदा देउवाद्वारा कार्यवाहक सभापति तोकिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन नेता थापा, शर्मा तथा सह–महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो।

तर बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रले थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिँदै चारतारे झन्डा, रुख चुनाव चिह्न र कांग्रेसको आधिकारिकता थापा पक्षलाई दिएको छ।












