अन्नपूर्ण स्पाइकर किंग्स एनभीएलको फाइनलमा प्रवेश
काठमाडौं।अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै अन्नपूर्णले फाइनल यात्रा तय गरेको हो।
![]()

प्रतिस्पर्धात्मक पहिलो सेटमा अन्नपूर्ण २१–२५ ले पराजित भएको थियो। तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उसले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो। अन्नपूर्णले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० ले जित्यो।
यो जितसँगै अन्नपूर्णले प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ। प्रतियोगिताको पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भए पनि त्यसपछि अन्नपूर्णले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
![]()
![]()
अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेस्रो खेलमा मधेश वारियर्सलाई ३–१ तथा त्यसपछि खप्तड फाल्कन्सलाई ३–० को सेटमा हराएको थियो।
अर्कोतर्फ, सगरमाथा स्म्यासर्स लगातार तेस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ।
एनभीएलमा यसपटक ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
नेपालमा पहिलोपटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल लिगको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल भदौ २७ गते आयोजना हुनेछ।













