मुस्ताङमा अमेरिकी दूतावासको सहयोगमा नयाँ संग्रहालय सञ्चालनमा
काठमाडौं।मुस्ताङको लोमान्थाङमा चोडे गुम्बामा अमेरिकी दूतावासको अनुदान सहयोगमा निर्माण गरिएको ‘मोन्चोए एन्टिक म्युजियम’ सञ्चालनमा आएको छ।
![]()
संग्रहालयको उद्घाटन अवसरमा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर स्थानीय नेतृत्व तथा धार्मिक अगुवाहरूसँग सहभागी भएका थिए। संग्रहालयले ऐतिहासिक नेपाली कला, पुरातात्त्विक सामग्री तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै स्थानीय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


अमेरिकाले नेपालमा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सहयोग गर्दै आएको छ। हार्करले आफ्नो मुस्ताङ भ्रमणका क्रममा अमेरिकी सहयोगमा संरक्षण तथा पुनर्स्थापना गरिएका लो गेकर (घर गुम्बा), जोङ गुम्बा र गोनपा गाङ लगायतका सम्पदा स्थलको समेत अवलोकन गरेका थिए।


यी परियोजनामार्फत ऐतिहासिक गुम्बा, चैत्य, कला तथा वास्तुकलाको संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।
मुस्ताङका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले भावी पुस्तालाई क्षेत्रको मौलिक इतिहास, कला र परम्पराबारे बुझ्ने अवसरसमेत प्रदान गर्नेछ।













