पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं।पर्यटन क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “दुई दिने जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमता अभिवृद्धि तालिम” काठमाडौंको कालधारास्थित होटल जी रामायणमा सम्पन्न भएको छ । सोट्टो–नेपालले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा १६–१७ अगस्ट २०२६ मा उक्त तालिम आयोजना गरेको हो ।
![]()



तालिममा पर्यटन क्षेत्रका ३३ जना प्रतिनिधिको सहभागिता रहेको थियो, जसमा ८ जना महिला र २५ जना पुरुष सहभागी थिए। तालिममार्फत सहभागीहरूलाई पर्यटन व्यवसाय तथा पेशागत कार्यमा जेनरेटिभ एआईको प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।
तालिमका प्रमुख विषयहरूमा डिजिटल मार्केटिङ तथा पर्यटन प्रवर्द्धन, एआईमार्फत सामग्री निर्माण, व्यवसायिक सञ्चार तथा लेखन, कार्यक्षमता र उत्पादकत्व वृद्धि, ग्राहक सेवा सुधार तथा पर्यटन व्यवसायमा एआईका व्यावहारिक प्रयोगहरू समावेश थिए ।


कार्यक्रममा बोल्दै सोट्टो–नेपालका अध्यक्ष मानबहादुर शाहीले एआई सम्बन्धी ज्ञानले पर्यटन व्यवसायीहरूलाई व्यवहारिक तथा प्रभावकारी पर्यटन योजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, यस्ता तालिमहरू लुम्बिनी र जनकपुरमा समेत सञ्चालन गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना (STP) का राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले एआई आजको महत्वपूर्ण प्रविधि भएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा यसको प्रयोगले सेवा गुणस्तर अभिवृद्धि हुने बताए। उनले पर्यटन व्यवसायीहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त भई पर्यटन सेवामा नवप्रवर्तन ल्याउन आग्रह गरे ।
दिगो र प्रविधिमैत्री पर्यटन विकासका लागि यस्ता तालिमहरूले पर्यटन क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरूको क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।













