पाकिस्तानमा टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या – Sagarmathapana:: Online News Portal

पाकिस्तानमा टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या

   २०८३ भाद्र २ गते  

काठमाडौं।पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा अगस्ट १४ मा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कारमाथि गोली चलाउँदा आयशाको मृत्यु भएको हो।

प्रहरीमा दर्ता भएको उजुरीअनुसार आयशा आफ्नी १५ वर्षीया बहिनी असीमा र भाइ नैमतुल्लाहसँग कारमा घरबाट बाहिर निस्किएकी थिइन्। पेट्रोल पम्पनजिकै पुगेपछि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

गोली आयशाको घाँटीमा लागेकाले घटनास्थलमै उनको मृत्यु भएको परिवारले जनाएको छ। गोली प्रहारपछि कार नियन्त्रणबाहिर गएर अर्को सवारीसाधनसँग ठोक्किँदा उनकी बहिनी असीमा गम्भीर घाइते भएकी छन्।

आयशाका बुबा फजल साहिबजादाका अनुसार उनी करिब ३–४ वर्षदेखि टिकटकमा सक्रिय थिइन् र उनका १३ लाखभन्दा बढी फलोअर्स थिए।

बुबाले आयशाको केही व्यक्तिसँग आर्थिक कारोबार रहेको र पैसा फिर्ता मागेपछि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्। उनले काउसर, जावेद उर्फ शाहिन र काशिफ उर्फ काशीमाथि घटनामा संलग्नताको आशंका गर्दै प्रहरीमा उजुरी दिएका छन्। यद्यपि उनीहरूको संलग्नता अहिलेसम्म पुष्टि भएको छैन।

प्रहरीले हत्या, हत्या प्रयास तथा सामूहिक आपराधिक उद्देश्यसम्बन्धी कानुनअन्तर्गत उजुरीमा नाम उल्लेख भएका व्यक्ति र दुई अज्ञात आक्रमणकारीविरुद्ध मुद्दा दर्ता गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै