अमेरिकी नवप्रवर्तन र उद्यमशीलताबारे जान्न १४ नेपाली युवा नेता अमेरिका भ्रमणमा – Sagarmathapana:: Online News Portal

अमेरिकी नवप्रवर्तन र उद्यमशीलताबारे जान्न १४ नेपाली युवा नेता अमेरिका भ्रमणमा

   २०८३ श्रावण ६ गते  

काठमाडौं।भविष्यका नेतृत्वकर्ता र नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित १४ जना नेपाली नेताले अमेरिकामा उद्यमशीलता, नवप्रवर्तन र आर्थिक विकाससम्बन्धी अनुभव आदानप्रदान गरेका छन्।

यङ साउथ एसियन लिडर्स इनिसिएटिभ (YSALI) अन्तर्गत सहभागी नेपाली प्रतिनिधिहरूले दक्षिण एसियाका अन्य उदीयमान नेताहरूसँगै अमेरिकामा आयोजित विभिन्न कार्यशाला तथा अन्तरक्रियामा सहभागिता जनाएका हुन्।

कार्यक्रमका क्रममा उनीहरूले अमेरिकी उद्यमी, नीति निर्माता, विश्वविद्यालय तथा उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुका साथै विभिन्न कम्पनी र नवप्रवर्तन केन्द्रको भ्रमण गरेका थिए। भ्रमणबाट निजी क्षेत्रको नेतृत्व, अनुसन्धान तथा प्रविधिले आर्थिक विकास र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन खेल्ने भूमिकाबारे व्यावहारिक जानकारी प्राप्त गरेको जनाइएको छ।

प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालयमा सार्वजनिक कूटनीतिका लागि उपसचिव सारा रोजर्ससँग समेत भेटवार्ता गरी नवप्रवर्तन र उद्यमशीलताले आर्थिक वृद्धि तथा रोजगारीका अवसर सिर्जनामा पुर्‍याउने योगदानबारे जानकारी लिएको थियो।

यस्ता आदानप्रदानले नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी विस्तार, प्रविधि सहकार्य र विश्वविद्यालयस्तरीय साझेदारीका नयाँ अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।

YSALI ले दक्षिण एसियाका सात देशका अमेरिकी सरकारका विभिन्न कार्यक्रमका पूर्वसहभागीलाई जोड्दै नेतृत्व विकास, क्षेत्रीय सहकार्य र साझा प्राथमिकताका व्यावहारिक समाधान अघि बढाउन सहकार्य गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै