बीपी प्रतिष्ठान धरान परिसरका ३५ औषधि पसल सिलबन्दी – Sagarmathapana:: Online News Portal

बीपी प्रतिष्ठान धरान परिसरका ३५ औषधि पसल सिलबन्दी

   २०८३ श्रावण ५ गते  

काठमाडौं।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान परिसरमा सञ्चालित ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ।

इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी भेटिएपछि ती पसल सिलबन्दी गरिएको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका तथा व्यवसाय नवीकरण नगरेका औषधि पसल कारबाहीमा परेका छन्। अनुगमन टोली आउने जानकारी पाएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका र अनुगमनमा असहयोग गरेका पसलसमेत सिलबन्दी गरिएको प्रहरीले जनाएको छ।

सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजात अध्ययनपछि प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।

यसअघि प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासनले औषधि पसलको अनुगमनलाई तीव्रता दिएको हो। प्रशासनले प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै