एसईईमा ४ जीपीए ल्याउने २९ सामुदायिक विद्यालयका विद्यार्थीलाई काठमाडौं महानगरको सम्मान
काठमाडौं।काठमाडौं महानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई सम्मान गरेको छ।
महानगरले प्रत्येक विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्दै उनीहरूको उपलब्धिको कदर गरेको हो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने तथा विद्यार्थीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ।


सम्मानितमध्ये सबैभन्दा धेरै २१ जना विद्यार्थी ज्ञानोदय माध्यमिक विद्यालयबाट रहेका छन्। त्यस्तै, विश्वनिकेतन माध्यमिक विद्यालयबाट ३ जना, रत्नराज्य माध्यमिक विद्यालय र तरुण माध्यमिक विद्यालयबाट २/२ जना तथा शिवपुरी माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले एसईईमा ४ जीपीए प्राप्त गरेका थिए।
महानगरले सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै सार्वजनिक शिक्षाप्रति अभिभावक र समुदायको विश्वास थप मजबुत हुने अपेक्षा गरेको छ।













