मन्त्रिपरिषद्का १० निर्णय सार्वजनिक,गोरखापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नियुक्ति
काठमाडौं-आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक नियुक्ति, नीतिगत स्वीकृति तथा कानुनी संशोधनसँग सम्बन्धित १० महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। साथै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।
त्यसैगरी, संयुक्त राष्ट्रसंघको सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी (बीबीएनजे) सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३, राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई स्वीकृति दिएको छ।
यस्तै, अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ।
बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद्का १० प्रमुख निर्णय
- गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त।
- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त।
- नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा।
- बीबीएनजे सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति।
- शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत।
- राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत।
- राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत।
- अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति।
- विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का नियुक्त।
- कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत।












