८ वर्षपछि पनि न्यायको प्रतीक्षा: निर्मला पन्त हत्या प्रकरणमा फेरि उच्चस्तरीय अनुसन्धान समिति गठन
काठमाडौं।कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको ८ वर्ष पूरा हुन लाग्दा प्रहरीले पुनः उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ। लामो समयसम्म अनुसन्धान जारी रहे पनि घटनाका दोषी अझै पहिचान हुन नसकेपछि नयाँ टोली परिचालन गरिएको हो।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेका छन्। यसअघि गठन भएका विभिन्न अनुसन्धान समितिहरूले घटनाको निष्कर्ष निकाल्न सकेका थिएनन्।

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाको अनुसन्धानमा प्रहरीले डीएनए परीक्षणलाई मुख्य आधार बनाउँदै १२३ भन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षण गरिसकेको छ। तर हालसम्म कुनै पनि नमुना घटनास्थलबाट प्राप्त प्रमाणसँग मेल खान सकेको छैन।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले अनुसन्धानलाई थप प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको पुष्टि गर्दै टोलीले काम सुरु गरिसकेको जानकारी दिए।

एसएसपी पंगेनी नेतृत्वको समितिमा आईजीपी सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक इन्स्पेक्टर तथा अन्य अनुसन्धान अधिकृतहरू रहेका छन्। प्रहरी प्रधान कार्यालयले टोलीलाई कञ्चनपुरमै खटाएर घटनाको पुनः गहन अनुसन्धान अघि बढाएको जनाएको छ।
निर्मला पन्त हत्या प्रकरण नेपालकै चर्चित र संवेदनशील आपराधिक घटनामध्ये एक हो। आठ वर्ष बितिसक्दा पनि दोषी कानुनी दायरामा आउन नसक्दा पीडित परिवार, स्थानीयवासी तथा मानवअधिकारकर्मीहरूले निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत न्याय सुनिश्चित गर्न सरकारसँग निरन्तर माग गर्दै आएका छन्।












