पूजा बास्तोला सर्वोच्च जाने, रास्वपा केन्द्रीय सदस्य निर्वाचनको नतिजाविरुद्ध रिट दर्ता गर्ने तयारी – Sagarmathapana:: Online News Portal

पूजा बास्तोला सर्वोच्च जाने, रास्वपा केन्द्रीय सदस्य निर्वाचनको नतिजाविरुद्ध रिट दर्ता गर्ने तयारी

   २०८३ असार १२ गते  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनमा बढी मत ल्याउँदा पनि विजयी घोषणा नगरिएको दाबी गर्दै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेकी छन्। यो विषय रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक रूपमा उठेको नयाँ विवाद बनेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्तोलाले आफू अन्यायमा परेको महसुस गरेको बताएकी छन्। उनले यसअघि नै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गरिसकेको उल्लेख गर्दै त्यसबाट चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको अनुभव भएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको जानकारी दिएकी हुन्।  

बास्तोलाले निर्वाचन प्रक्रियामा भएको भनिएको त्रुटिबारे निष्पक्ष छानबिन र न्यायिक निरूपण आवश्यक रहेको बताएकी छन्। उनले अदालतमार्फत आफ्नो संवैधानिक तथा कानुनी अधिकारको संरक्षण हुने विश्वास व्यक्त गरेकी छन्।

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनको नतिजापछि उठेको यस विवादबारे पार्टीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै