सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ – Sagarmathapana:: Online News Portal

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

   २०८३ असार ११ गते  

काठमाडौं।सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क क्षेत्रमा बसोबास गर्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी डिस्कोर्ड र टेलिग्रामलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

उजुरीपछि खटिएको प्रहरी टोलीले तिमलसिनालाई बुधबार पक्राउ गरेको हो। उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता, प्रतिष्ठा तथा व्यक्तिगत अधिकारमा आघात पुर्‍याउने कार्य कानुनअनुसार दण्डनीय हुने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै