रातो नम्बर प्लेटका मोटरसाइकलबाट राइड सेयरिङ बन्द, अब कालो नम्बर प्लेट अनिवार्य
काठमाडौं।सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ। अब रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने भएका छन्।
नयाँ आर्थिक ऐनमार्फत सरकारले दुईपाङ्ग्रे सवारी साधनलाई पनि भाडाका सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरेको हो। यातायात व्यवस्था ऐन, २०४९ अनुसार भाडाका सवारी साधनलाई कालो नम्बर प्लेट प्रदान गरिने व्यवस्था छ।
हालसम्म पठाओ, इनड्राइभलगायतका राइड सेयरिङ प्लेटफर्ममा अधिकांश रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटर प्रयोग हुँदै आएका छन्। तर अब राइड सेयरिङ सेवा सञ्चालन गर्न चाहने सवारी साधनलाई अनिवार्य रूपमा कालो नम्बर प्लेटमा दर्ता गर्नुपर्नेछ।
सरकारले यस्ता सवारी साधनका लागि वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था समेत गरेको छ। साथै, राइड सेयरिङबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने प्रावधान पनि लागू गरिएको छ।
सरकारका अनुसार राइड सेयरिङ व्यवसायलाई औपचारिक तथा कानुनी मान्यता दिने, कर प्रणालीलाई व्यवस्थित बनाउने तथा सार्वजनिक यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो नीति लागू गरिएको हो।
नयाँ व्यवस्थाले राइड सेयरिङ क्षेत्रमा पारदर्शिता, कर संकलन र सेवा नियमनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।












