मकवानपुरमा ‘अपरेशन ड्रप’ : १८ जना नियन्त्रणमा, शान्ति सुरक्षामा कडाइ
मकवानपुर।शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत १८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई त्रसित बनाउने कार्यमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लक्षित रूपमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय युवादेखि मध्यम उमेर समूहसम्मका व्यक्ति रहेका छन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरू सार्वजनिक स्थलमा झै–झगडा गर्ने, धम्की दिने, लागूऔषध कारोबार तथा सेवनमा संलग्न हुने जस्ता गतिविधिमा सक्रिय रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले सूचनाको आधारमा निगरानी बढाउँदै छापा मार्ने, शंकास्पद व्यक्तिको पहिचान गर्ने तथा समुदायसँग सहकार्य गर्दै अभियान अघि बढाइएको जानकारी दिए।

उनले भने, “समुदायमा त्रास फैलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ। यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी अझ सक्रिय रूपमा परिचालन हुनेछ।”
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। केहीमाथि सार्वजनिक अपराध तथा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ भने अन्यको हकमा सोधपुछपछि थप कारबाही गरिनेछ।

अभियानका क्रममा हेटौंडाका विभिन्न स्थानमा नियमित गस्तीसमेत तीव्र पारिएको छ। विशेषगरी रातिको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न मोटरसाइकल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा सिसिटिभी निगरानीलाई प्रभावकारी बनाइएको छ।
प्रहरीले स्थानीय बासिन्दासँग समन्वय गर्दै शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। “समुदायको सहयोगबिना शान्ति सुरक्षा कायम गर्न कठिन हुन्छ,” डीएसपी बोगटीले भने, “हामी नागरिकसँग सहकार्य गरेर सुरक्षित वातावरण निर्माण गर्न प्रतिबद्ध छौं।”
जिल्ला प्रहरी कार्यालयले ‘अपरेशन ड्रप’ अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ। प्रहरीको सक्रियतापछि स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढ्न थालेको प्रतिक्रिया आएको छ।












