सत्र सुरु हुनुअघि भर्ना र चर्को शुल्क असुली नगर्न शिक्षा मन्त्रालयको कडा निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले केही संस्थागत विद्यालयले कानुन विपरीत कार्य गरेको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुली गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेको छ। यस्तो कार्यले शिक्षा विनियमावली तथा सर्वोच्च अदालत को चैत २० गतेको आदेशसमेत उल्लङ्घन गरेको मन्त्रालयले जनाएको छ।


मन्त्रालयले सबै विद्यालयलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न स्पष्ट निर्देशन दिएको छ। साथै, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार तोकिएको शुल्क बाहेक अन्य कुनै रकम नलिन आग्रह गरिएको छ।
अभिभावकबाट गैरकानुनी रूपमा उठाइएको शुल्क फिर्ता गराउन स्थानीय तहलाई कानुनी प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

तोकेको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन लगायत प्रचलित कानुन अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
‘विद्यालय जस्तो संस्थामा गैरकानुनी काम अशोभनीय’
मन्त्रालयले विद्यालय जस्तो संवेदनशील र जिम्मेवार संस्थामा यस्ता गतिविधि अशोभनीय मात्र नभई दण्डनीय हुने भन्दै सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ।












