पेट्रोलियम संकटपछि सरकारको ठूलो निर्णय: अब पेट्रोल–डिजेल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न पाइने – Sagarmathapana:: Online News Portal

पेट्रोलियम संकटपछि सरकारको ठूलो निर्णय: अब पेट्रोल–डिजेल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न पाइने

   २०८२ चैत्र २२ गते  

काठमाडौं।पेट्रोलियम आपूर्ति संकट बढ्दै गएपछि सरकारले सवारी साधनसम्बन्धी महत्वपूर्ण नीतिगत निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय (इलेक्ट्रिक) साधनमा रूपान्तरण गर्न दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले उक्त जानकारी दिँदै रूपान्तरण प्रक्रियामा देखिएका कानुनी अवरोध हटाइने बताएका छन्। उनका अनुसार अब सवारीधनीहरूले आफ्ना पुराना इन्धनयुक्त सवारीलाई विद्युतीय प्रविधिमा परिवर्तन गर्न पाउनेछन्, जसका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था मिलाइनेछ।

यस निर्णयसँगै देशमा विद्युतीय सवारीको प्रयोग बढ्ने, पेट्रोलियम पदार्थमाथिको निर्भरता घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सरकारले दीर्घकालीन रूपमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यअनुसार यो कदम चालेको जनाएको छ।

यद्यपि, रूपान्तरण प्रक्रियाको लागत, प्राविधिक मापदण्ड र कार्यान्वयन विधि भने सम्बन्धित निकायले चाँडै सार्वजनिक गर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै