गृहमन्त्री सुधन गुरुङ को संकेत ‘३६ वर्षसम्म सुरक्षाकर्मी बाँधिए’
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले भ्रष्टाचार तथा अनियमितताविरुद्ध चलिरहेको धरपकड अभियानबीच विगतको व्यवस्थामाथि कडा टिप्पणी गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशमा लामो समयसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको आशय व्यक्त गरेका हुन्।
गुरुङले आफ्नो पोस्टमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’ उनको यस भनाइले विगतका राजनीतिक तथा प्रशासनिक अभ्यासप्रति असन्तुष्टि झल्किएको विश्लेषण गरिएको छ।
पछिल्लो समय गृहमन्त्रालयले देशभर भ्रष्टाचार, आपराधिक गतिविधि र संगठित अपराध नियन्त्रणका लागि आक्रामक कदम चालिरहेको छ। सोही सन्दर्भमा गृहमन्त्रीको अभिव्यक्तिलाई विगतको कमजोरीप्रति संकेत गर्दै वर्तमान अभियानलाई बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।
सरकारले कानुनी शासन सुदृढ गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याइरहेका बेला गृहमन्त्रीको यस्तो टिप्पणीले राजनीतिक वृत्तमा थप बहस समेत उत्पन्न गरेको छ।












