ठगी मुद्दामा गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालक पक्राउ
काठमाडौं — बचतकर्ताको रकम फिर्ता नगरी ठगी गरेको आरोपमा गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि. का चार जना सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सहकारीमार्फत बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरुलाई जिल्ला अदालत ललितपुर बाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा:
- ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ स्थायी घर भएका ६१ वर्षीय ईमान सिंह राई
- चितवन भरतपुर महानगरपालिका–२५ स्थायी घर भएका ४२ वर्षीय लालबहादुर क्षेत्री
- ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–१ स्थायी घर भएका ५९ वर्षीय कर्णबहादुर राई
- ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ स्थायी घर भएका ३९ वर्षीय अबिन कुमार राई रहेका छन्।
उनीहरु हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।
प्रहरीले उक्त सहकारीबाट ठगीमा परेका अन्य पीडितहरुलाई समेत जिल्ला प्रहरी परिसर ललितपुर को मुद्दा शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ।
यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।












