७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो,‘निमित्त शून्य’ बनाउने सरकारको लक्ष्य
काठमाडौं:सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ वटा गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। लामो समयदेखि निमित्तकै भरमा सञ्चालन हुँदै आएका स्थानीय तहहरूमा अब स्थायी नेतृत्व स्थापना गर्ने उद्देश्यसहित मन्त्रालयले यो कदम चालेको हो।
मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित गाउँपालिकामा पठाइएको हो। यस निर्णयसँगै स्थानीय तहको प्रशासनिक कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसअघि मन्त्रालयले नगरपालिकाहरूमा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउँदै उपसचिवहरू खटाइसकेको थियो। अहिलेको निर्णयलाई सोही अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
मन्त्रालयले अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको जनाएको छ। ती स्थानहरूमा समेत क्रमशः स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाएर ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको योजना रहेको छ।
सरुवाका लागि मन्त्रालयले विभिन्न मापदण्ड तय गरेको जनाएको छ। एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय तहमा अनुभव नभएका कर्मचारी, घर ठेगाना मिल्दोजुल्दो भएका कर्मचारी तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यलाई प्राथमिकता दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारको यस पहलले स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तीव्रता र प्रशासनिक स्थायित्व कायम हुने अपेक्षा गरिएको छ।












