अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गरिने – Sagarmathapana:: Online News Portal

अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गरिने

   २०८२ चैत्र २० गते  

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले अटिजम भएका बालबालिकाको शिक्षा र समग्र विकासका लागि सरकारले विशेष कार्यक्रमलाई तीव्रता दिएको बताएका छन्।

बिहीबार मन्त्रालयमार्फत जानकारी दिँदै मन्त्री पोखरेलले सातै प्रदेशमा ‘नमुना आवासीय विद्यालय’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार अटिजम भएका बालबालिकाको विशेष आवश्यकता ध्यानमा राख्दै शिक्षा र पालनपोषण दुवैलाई समेट्ने गरी विद्यालय संरचना विकास गरिनेछ। यसका लागि शिक्षा, स्वास्थ्य लगायत विभिन्न निकायबीच सहकार्य सुनिश्चित गर्न अन्तरमन्त्रालय समन्वय तथा प्राविधिक समिति समेत गठन गरिएको छ।

सरकारको योजनाअनुसार ती विद्यालयहरूमा आधुनिक प्रविधियुक्त सिकाइ प्रणाली, दक्ष जनशक्ति तथा सुरक्षित आवासीय वातावरणको व्यवस्था गरिनेछ। यसले अटिजम भएका बालबालिकालाई समावेशी शिक्षा उपलब्ध गराउँदै दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले यो पहललाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी गुणस्तरीय सेवा प्रवाह र बालमैत्री वातावरण सुनिश्चित गर्ने दिशामा केन्द्रित गरिने स्पष्ट पारे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै