एमसीसी राष्ट्रघाती, तत्काल खारेज गरियोस् : सांसद हर्क साम्पाङ
काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी (Millennium Challenge Corporation) खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितमा नरहेको दाबी गरे। उनले उक्त सम्झौतालाई “असमान र राष्ट्रघाती व्यापारिक सन्धि” भन्दै तत्काल खारेज गर्नुपर्ने माग राखे।


सांसद साम्पाङले आफू व्यक्तिगत धारणा होइन, जनताको आवाज प्रतिनिधित्व गर्न संसद् पुगेको बताए। उनले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमाथि खतरा हुने भन्दै एमसीसीको विरोध गरे।
उनले भने, “हामी के गरिरहेका छौँ र भोलि के गर्नुपर्छ भन्ने विषयमा जनताको माग राख्न यहाँ आएको हुँ। देशको स्वाधीनता जोगाउन एमसीसीजस्ता सन्धि खारेज गर्नुपर्छ।”
साम्पाङले यस्ता सम्झौताले मुलुकको सार्वभौमिकता कमजोर बनाउन सक्ने भन्दै सदनको ध्यानाकर्षण गराएका छन्।














