गृहमन्त्री गुरुङद्वारा विशेष सेवा सहित तीन अध्यादेश अघि बढाइयो
तीन अध्यादेश पेश, प्रतिनिधिसभामा शोक प्रस्ताव पारित नागरिकता र निर्वाचनसम्बन्धी अध्यादेश पेश
काठमाडौं।प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा महत्वपूर्ण अध्यादेश पेश गरेका छन्। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत ती अध्यादेश प्रस्तुत गरिएको हो।
गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन्।


सरकारले नेपालको संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक कानुनी संशोधन अध्यादेशमार्फत गरेको जनाएको छ। विशेषगरी समानुपातिक बन्द सूचीमा समावेश गरिने जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो।

त्यसैगरी, आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याइएको हो।
यसैबीच, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय मातहत ल्याउने व्यवस्था ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ मार्फत गरिएको गृहमन्त्रीले जानकारी गराए।
बैठकले संविधानसभा तथा संसदका पूर्व सदस्यहरू—ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा बलदेव बोहरा—को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने तय गरिएको छ।












