ललितपुर–२ मा सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन, “अब सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ”
काठमाडौं:ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। बिहीबार एक विशेष कार्यक्रमबीच कार्यालय सञ्चालनमा ल्याइएको हो।
कार्यालय उद्घाटनपछि बोल्दै सांसद खरेलले चुनावका बेला मात्रै जनतामाझ पुग्ने र जितेपछि हराउने पुरानो प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको बताए। उनले अब नियमित रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, उनीहरूका समस्या, सुझाव र धारणा सुन्ने प्रतिबद्धता व्यक्त गरे।


उनले भने, “चुनावमा आउने र जितेपछि हराउने प्रवृत्ति अन्त्य हुनुपर्छ। त्यसैले हामीले जनतासँग निरन्तर जोडिन, सम्बन्ध मजबुत बनाउन र संवाद गर्नका लागि ग्वार्कोमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हौं।”
सांसद खरेलका अनुसार ललितपुर–२ का मतदाताका लागि प्रत्येक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विशेष समय छुट्याइएको छ। उक्त समयमा सो क्षेत्रका नागरिकले मात्र भेटघाट गर्न सक्नेछन् भने अन्य समयमा सबैका लागि कार्यालय खुला रहनेछ।
उनले अब “सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ” भन्ने वातावरण बनाउने दाबी गर्दै आफूलाई अत्यधिक मतले विजयी गराउने मतदाताप्रति आभार व्यक्त गरे।













