राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेको उच्चस्तरीय बैठक आज
काठमाडौँ :राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय बैठक बस्दैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा हुने बैठक बिहान ११ बजे सुरु हुने र करिब एक घण्टा चल्ने तय भएको छ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार बैठकमा सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ र गृह मन्त्रालयका सचिवहरू, राजस्व प्रशासनका उच्च अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरूको सहभागिता रहनेछ।


बैठकमा राजस्व प्रशासनलाई थप चुस्त बनाउने, चुहावट नियन्त्रण गर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने बताइएको छ। साथै, राजस्व छली, अवैध कारोबार तथा चोरी पैठारी नियन्त्रणका लागि कानुन कार्यान्वयनलाई कडाइ गर्ने रणनीतिमा पनि जोड दिइनेछ।
सरकारले पछिल्लो समय राजस्व संकलनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै विभिन्न निकायबीच समन्वय बढाउने र निगरानी प्रणालीलाई सुदृढ बनाउने तयारी गरेको छ। आजको बैठकले त्यसतर्फ महत्वपूर्ण नीतिगत निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ।













