इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प,सुनामीको चेतावनी जारी – Sagarmathapana:: Online News Portal

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प,सुनामीको चेतावनी जारी

   २०८२ चैत्र १९ गते  

काठमाडौँ।इन्डोनेसियाको मोलुका टापु आसपास केन्द्रविन्दु बनाएर आज बिहान शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय निकायका अनुसार ७.४ म्याग्निच्युडको उक्त भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार प्रारम्भिक रूपमा ७.८ म्याग्निच्युड मापन गरिएको भूकम्प स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको हो। यसको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ।

भूकम्पपछि लगातार पराकम्पहरू आइरहेका छन् भने यसको धक्का जापानसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानी मौसम विज्ञान एजेन्सीले केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी दिएको छ।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबाट करिब एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्रारम्भिक विवरणअनुसार उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा घर भत्किँदा एक ७० वर्षीया वृद्धाको मृत्यु भएको पुष्टि भएको छ। मनाडो सहरमा भवनहरू क्षतिग्रस्त भएको तथा सडकमा सामग्री छरपस्ट भएको दृश्य सार्वजनिक भएका छन्।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्पहरू आइसकेका छन्। थप पराकम्प आउन सक्ने भन्दै अधिकारीहरूले तटीय क्षेत्र तथा पहिरो जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ। यसअघि सन् २०२२ मा पश्चिम जाभामा आएको भूकम्पमा ६०० भन्दा बढीको ज्यान गएको थियो भने सन् २०१८ को सुलावेसी भूकम्प र सुनामीमा ४,३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै