एमाले संसदीय दल चयनमा दबाबको आरोप, योगेश भट्टराई असन्तुष्ट – Sagarmathapana:: Online News Portal

एमाले संसदीय दल चयनमा दबाबको आरोप, योगेश भट्टराई असन्तुष्ट

   २०८२ चैत्र १९ गते  

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई ले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सांसदहरूलाई दबाबमा पारिएको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले दलको नेता चयन गर्ने शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले पार्टीभित्र व्यापक पुनर्गठनमार्फत एकता सुदृढ गर्दै जनविश्वास बढाउनुपर्ने समयमा अपनाइएको प्रक्रिया उल्टै चिन्ताजनक भएको उल्लेख गरेका छन्।


उनका अनुसार केही दिन समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफल गरी सहमति खोज्न सकिने अवस्था हुँदाहुँदै हतारमा निर्णय गरिएको छ। “छलफल र समझदारीभन्दा दबाबको माध्यम अपनाइनु उपयुक्त भएन,” उनले टिप्पणी गरेका छन्।

यसैबीच, एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। प्रारम्भमा उम्मेदवारी दिने तयारीमा रहेका सुहाङ नेम्वाङ अन्तिम चरणमा बादलकै प्रस्तावक बनेपछि बादल एक्लो उम्मेदवार बनेका थिए।

एमालेभित्रको यो घटनाक्रमले पार्टीभित्र आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामाथि बहस सुरु गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै