लुम्बिनीका १२ जिल्लामा अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहको निर्देशन
काठमाडौँ।गृह मन्त्रालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालयहरू तथा सम्बन्धित सुरक्षा निकायलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। प्राप्त विवरणअनुसार अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गर्नुका साथै स्थानीय स्रोतसाधनको दुरुपयोग गरिरहेको भन्दै कडाइ गरिएको हो।


गृह मन्त्रालयका अनुसार “द काउन्सिल अफ गेन्ज लुम्बिनी” ले पेश गरेको निवेदनका आधारमा यो निर्णय गरिएको हो। निवेदनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अनुमति बिना सञ्चालन भइरहेका क्रसर उद्योगहरू तत्काल बन्द गराउन माग गरिएको थियो।
निर्देशन प्राप्त जिल्लाहरूमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया रहेका छन्।

मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योगहरू बन्द गराउन र त्यसको प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ।
सरकारको यो कदमले वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग र अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।












