प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु
काठमाडौँ -गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि औपचारिक रूपमा प्रारम्भ हुँदै छ। दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ।
रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते नै आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक, प्राविधिक, सुरक्षा तथा जनशक्ति तयारी पूरा भइसकेको छ।


सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा (माथिल्लो सदन) को बैठक भने संसद् सचिवालय परिसरभित्रकै राष्ट्रियसभा कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ। सोहीअनुसार निर्वाचन आयोगले चैत ५ गते अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
नवनिर्वाचित २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत देखिएको छ। पार्टीगत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ तथा एक स्वतन्त्र सांसद रहेका छन्।

आजको बैठकमा तीन महत्वपूर्ण अध्यादेश प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ। गृहमन्त्रीले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२ प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ तथा ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गर्ने कार्यक्रम रहेको छ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
त्यसैगरी, प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाउन्जेलसम्मका लागि ‘प्रतिनिधिसभा नियमावली, २०७९’ बमोजिम कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पेश गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि आजका लागि तय गरिएको छ।
नवनिर्वाचित संसद्को पहिलो अधिवेशनसँगै आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम, बजेट तयारी र विधेयक निर्माण प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।












