डिपी अर्यालको रास्वपा परित्याग गर्ने घोषणा
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएका छन्। सभामुख पदमा चयन हुने प्रक्रिया अगाडि बढेसँगै उनले पार्टीका सम्पूर्ण जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्याग्ने निर्णय गरेका हुन्।
सरकार गठनकै समयमा गृहमन्त्रीका प्रमुख दाबेदार मानिएका अर्याललाई अहिले सभामुख बनाउने सहमति भएको स्रोतले जनाएको छ। संसदीय अभ्यासअनुसार सभामुख पद सम्हाल्ने व्यक्तिले दलगत संलग्नता त्याग्नुपर्ने भएकाले अर्यालले यस्तो निर्णय लिएका हुन्।
सभामुख चयनका लागि निर्वाचन चैत २२ गते गर्ने तयारी गरिएको छ। राजनीतिक समीकरण मिलेसँगै अर्याल निर्विरोध चयन हुने सम्भावना पनि उच्च रहेको बताइएको छ।
रास्वपाभित्र प्रभावशाली नेताका रूपमा चिनिएका अर्यालको बहिर्गमनले पार्टीभित्र नयाँ नेतृत्वको बहस समेत सुरु हुने संकेत देखिएको छ।












