रास्वपाका नवनिर्वाचित सांसदलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार प्रशिक्षण कार्यक्रम आगामी चैत ३ र ४ गते काठमाडौं मा सञ्चालन गरिनेछ। प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।
महामन्त्री बुर्लाकोटीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म तोकिएको स्थानमा उपस्थित भएर तयारी अवस्थामा रहन अनुरोध गरेका छन्।
प्रशिक्षण कार्यक्रममा सांसदहरूको संसदीय भूमिका, संसदमा काम गर्ने प्रक्रिया, विधेयक निर्माण, नीति निर्माणमा सहभागिता तथा जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी दिइनेछ।
रास्वपाका अनुसार संसदीय गतिविधिलाई प्रभावकारी, जिम्मेवार र व्यवस्थित बनाउन उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो। साथै कार्यक्रम सफल बनाउन सबै सांसदहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ।












