सेना दिवस : २६३औँ वार्षिकोत्सव आज, टुँडिखेलमा विशेष समारोह
काठमाडौं।नेपाली सेना ले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै छ। महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसका मुख्य कार्यक्रम सैनिक टुँडिखेलमा आयोजना गरिँदै छन्।
रामचन्द्र पौडेल को प्रमुख आतिथ्यमा हुने विशेष समारोहमा शिवरात्रि बढाइँ, आकर्षक परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति समेत हुन्।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार जङ्गीअड्डामातहत पृतना, बाहिनी, गण तथा गुल्महरूमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। विदेशस्थित कूटनीतिक नियोग र शान्ति मिसनहरूमा खटिएका नेपाली सैनिकले पनि सेना दिवस मनाइरहेका छन्।
नेपाली सेनाको साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको मानिन्छ। नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा सेनाले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति–निरपेक्ष चरित्र सेनाको विशेषता मानिन्छ।
संयुक्त राष्ट्रसङ्घ को आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि शान्ति स्थापना मिसनमा सहभागिता जनाउँदै आएको छ। हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिक खटिएका छन्। विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका क्रममा ७४ नेपाली सैनिकले ज्यान गुमाएका छन् भने ७७ जना घाइते भएका छन्।
हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक खटाउने देशहरूको सूचीमा नेपाल अग्रस्थानमा रहेको सेनाले जनाएको छ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, आर्मी कमान्ड एन्ड स्टाफ कलेज लगायतका शिक्षालयमा स्वदेशी तथा विदेशी सैनिकहरूलाई तालिम प्रदान हुँदै आएको छ।
सेनाले विपद् व्यवस्थापन, ऐतिहासिक सम्पदा संरक्षण, हिमाल सफाइ तथा राष्ट्रिय गौरवका आयोजनामा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको छ। सेनाकै व्यवस्थापनमा काठमाडौँ–तराई मधेस द्रुतमार्ग को निर्माण कार्य जारी छ।
यसैबीच,आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ।












